ओखलढुंगा । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारको संयोजकत्वमा कमिटी गठन गरिएको हो ।
विहीबार जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले जिल्ला संयोजकमा हर्कबोल राई र निर्वाचन परिचालन कमिटीको संयोजकमा सुनुवारलाई तोकेको हो । निर्वाचन परिचालन कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, वडा र पालिका कमिटी, जनवर्गीय संगठन, सल्लाहकार कमिटी, जिल्ला कमिटी सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई समेटिएको छ ।
जिल्ला इञ्चार्ज सुनुवारले निर्वाचन परिचालन कमिटीमार्फत पार्टीका सबै संरचना र कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्दै चुनावी अभियानलाई तीव्र बनाइने बताए । उनका अनुसार पछिल्लो समय केही नेताहरू पार्टीबाट बाहिरिए पनि यसअघि निष्क्रिय रहेका नेता–कार्यकर्ताहरू पुनः सक्रिय भएर पार्टी उम्मेदवार अस्मिता थापाको पक्षमा परिचालित भएका छन् । एमालेले निर्वाचन अवधिभर परिचालन कमिटीमार्फत घरदैलो अभियान, संगठन सुदृढीकरण र मतदाता परिचालनलाई प्राथमिकता दिने जनाएको छ ।