48
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी ठहर गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कुनै वस्तुपरक तथ्य र प्रमाणविना केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा पौडेललाई पक्राउ गरिएको निष्कर्ष निकालेको हो।
एमालेले विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न दिएको आदेशप्रति पनि गम्भीर असहमति जनाउँदै उक्त कदम न्यायसम्मत नरहेको स्पष्ट पारेको छ। एमालेका अनुसार सामान्य कानुनी प्रक्रिया र सोधपुछको विकल्प हुँदाहुँदै पार्टीको संगठनात्मक कामको सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई'अपहरण शैली' मा नियन्त्रणमा लिइनु निरङ्कुशताको पराकाष्ठा हो।
राज्य संयन्त्रको यस्तो विभेदकारी र राजनीतिक रूपमा अभिप्रेरित कदमको सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै एमालेले उपाध्यक्ष पौडेललाई बिना सर्त अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी वक्तव्य र महासचिव शंकर पोखरेलका अनुसार सरकारको यस कदमविरुद्ध संसद् र सडक दुवै ठाउँबाट प्रतिवाद गरिनेछ।
यसका लागि पार्टीले आफ्ना सम्पूर्ण कमिटी, भ्रातृ संगठन र न्यायप्रेमी जनसमुदायलाई एकजुट हुन आह्वान गर्दै देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ परेका पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ