काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगनकुमार थापालाई आफूले यसअघि गरेको ५५ वर्षपछि राजनीति छाड्ने घोषणा पूरा गर्न चुनौती दिएका छन् ।
शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाले युवालाई नेतृत्वमा अवसर दिने भन्दै ५५ वर्ष पुगेपछि आफू राजनीतिबाट बाहिरिने बताएको स्मरण गराए ।
‘युवा–युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ । गगन थापाजीले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने ।
उनले नियमित निर्वाचन भए आगामी निर्वाचनसम्म थापा ५५ वर्ष नाघिसक्ने भन्दै आफ्नो पुरानो घोषणा पूरा गर्न आग्रह गरे ।
‘यदि नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ । कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने तपाईं सार्वजनिक रूपमा कांग्रेस कसले डोर्याउन सक्छ, जिम्मा लाउनुस्,’ उनले भने ।
बस्नेतले नेपाली कांग्रेस अहिले गगन थापाको नेतृत्वमा नचलेको टिप्पणीसमेत गरे । उनले पार्टीमा युवालाई अवसर दिने विषयमा थापाले आफ्नो प्रतिबद्धता व्यवहारमा देखाउनुपर्ने बताए ।