काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिएका छन् ।
सभापतिमा अत्यधिक मतसहित निर्वाचित भएपछि पौडेलले शनिबार मध्याह्न सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
‘कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना,’ पौडेलले लेखेका छन् ।
निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले आफूहरू युग बदल्ने संकल्पसहित अघि बढेको उल्लेख गर्दै चुनौतीका बीच पनि निरन्तर काम गर्नुपर्ने बताएका छन् ।
‘हामी युग बदल्ने संकल्प लिएर आएका छौँ । बाटो पक्कै सजिलो छैन,’ उनले लेखेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन ।’
कांग्रेसलाई रूपान्तरण गर्दै देशमा समेत परिवर्तन ल्याउने लक्ष्य पूरा गर्न आफू इमानदार सहयात्रीका रूपमा साथमा रहने पौडेलले बताएका छन् ।
‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ उनले लेखेका छन्, ‘इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौँ ।’