गगनलाई श्यामकृष्णको सुझाव : फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्नुहोस्

10 October, 2026 118 Views
गगनलाई श्यामकृष्णको सुझाव : फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्नुहोस्
118

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै फरक मत राख्ने सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

सभापति पदमा थापासँग प्रतिस्पर्धा गरेका खड्गीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीभित्र एकता, सहकार्य र आपसी सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचनमा सहभागी भएर मतदान गर्ने महाधिवेशन प्रतिनिधि र आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । निर्वाचनको परिणाम जस्तो भए पनि आफूले प्राप्त गरेको माया, विश्वास र सद्भावलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिएको उनको भनाइ छ ।

खड्गीले विशेष र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनको भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताहरूलाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टी एकताको मूलधारमा समेट्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताएका छन् ।

‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्,’ खड्गीले लेखेका छन् ।

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेता तथा कार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । उनका अनुसार प्रतिस्पर्धा पदका लागि भए पनि त्यसले आपसी सम्बन्धमा दूरी सिर्जना गर्नु हुँदैन ।

‘मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन । प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन,’ उनले भनेका छन् ।

कांग्रेसलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन गुटगत स्वार्थभन्दा माथि उठ्नुपर्ने खड्गीको धारणा छ । गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सके पार्टीलाई थप बलियो बनाउन सकिने उनले बताएका छन् ।

Related Post