काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चुनावी प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले प्रश्न गरेपछि चार महिनामै सबै क्षेत्रमा कायापलट गर्न सम्भव नभएको बताएका छन्। आइतबार गोरखाको शहीद लखन गाउँपालिका–९ मा मतदातासँगको छलफलका क्रममा उनले आफूलाई पाँच वर्ष काम गर्ने अवसर दिन आग्रह गर्दै काम गर्न नसके आगामी निर्वाचनमा भोट नदिनसमेत चुनौती दिएका छन्।
छलफलका क्रममा स्थानीयले निर्वाचनका बेला आफूले गरेका प्रतिबद्धता र अहिलेको कामको अवस्थाबारे गुरुङसँग प्रश्न गरेका थिए। विशेषगरी स्वास्थ्य संस्थामा ल्याब सञ्चालनका लागि बजेट छुट्याउने भनिए पनि त्यसबारे ठोस प्रगति नभएको भन्दै स्थानीयले प्रश्न उठाएका थिए।
जवाफमा गुरुङले सरकार गठन भएको चार महिना मात्रै भएको र पहिलो बजेटसमेत भर्खर कार्यान्वयनमा आएको बताए। सरकारको काम प्रक्रिया पूरा गरेर अघि बढ्ने भएकाले छोटो अवधिमै सबै समस्या समाधान गर्न नसकिने उनको भनाइ थियो।
मतदाताको प्रश्नमा केही आक्रोशित देखिएका गुरुङले भने, ‘चार महिनामा त तपाईंलाई कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लिएर जानुस्।’ उनले आफूलाई विश्वास गर्न नसके आगामी निर्वाचनमा नजिताउनसमेत आग्रह गरे।
गुरुङले आफूलाई पाँच वर्ष काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्दै त्यस अवधिमा काम गर्न नसके अर्को निर्वाचनमा आफूलाई भोट नदिन भने। उनले सरकारका योजना र प्रतिबद्धता कार्यान्वयनका लागि समय लाग्ने भएकाले तत्काल परिणाम खोज्नुभन्दा केही समय पर्खिन आग्रह गरे।
स्वास्थ्य संस्थामा ल्याब सञ्चालनका लागि बजेट मात्रै पर्याप्त नहुने भन्दै उनले आवश्यक जनशक्ति, दरबन्दी र प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने बताए। दरबन्दी सिर्जनाका लागि सम्बन्धित मन्त्रालयको सहमति आवश्यक पर्ने भएकाले प्रक्रिया पूरा भएपछि मात्रै सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङको ‘भोट फिर्ता लिएर जानुस्’ भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको चर्चा भइरहेको छ।