गाँजा बरामद गाडीको स्टिकर उप्काएको आरोपमा स्ववियु सभापति पक्राउ

गाँजा बरामद गाडीको स्टिकर उप्काएको आरोपमा स्ववियु सभापति पक्राउ
54

काठमाडौं । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन्।

लागुऔषध गाँजा बरामद भएको अनुसन्धानाधीन गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालय परिसरमै पुगेर उप्काएको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार यादव इलाका प्रहरी कार्यालय रानीको परिसरमा अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानका लागि राखिएको गाडीबाट प्रमाण हटाउने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले ५० किलो २९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको को १ च ६६२० नम्बरको मारुती भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो। उक्त स्टिकर यादवले उप्काउँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादवलाई भदौ २२ गते पक्राउ गरिएको हो। अदालतबाट सात दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाँजा ओसारपसारमा प्रयोग भएको उक्त गाडीमा अस्पतालको स्टिकर राखेर सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको हुनसक्ने देखिएको छ। अनुसन्धानका क्रममा सोही स्टिकर हटाएर प्रमाण नष्ट गर्न खोजेको आरोपमा यादवमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यादव विराटनगर महानगरपालिका–१४ का बासिन्दा हुन्।

Related Post