काठमाडौं, साउन १९ — गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको निर्देशनमा डोजर चलाएर पर्खाल भत्काइएको घटनापछि नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाबारे आवश्यक समन्वय र छलफल भइरहेको भन्दै त्यसपछि मात्रै विस्तृत प्रतिक्रिया दिन सकिने बताएका छन्।
विवाद सोमबार सुरु भएको हो। सांसद पाण्डे डोजरसहित नेपाल ट्रष्टको जग्गामा पुगेपछि त्यहाँ खटिएका सैनिक अधिकारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्रै काम अघि बढाउन आग्रह गरेका थिए। तर, सैनिक अधिकारीको आग्रह अस्वीकार गर्दै पाण्डेले पर्खाल भत्काउन लगाएका थिए।
घटनास्थलमा रहेको उक्त क्षेत्र नेपाली सेनाको संरक्षणमा रहेको छ भने त्यही परिसरभित्र सेनाको गण पनि रहेको छ।
यस क्रममा सांसद पाण्डेले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर आदेश लिएर आएको दाबी गर्दै सैनिक अधिकारीसँग गरेको वादविवादको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
यता, घटनालगत्तै प्रधान सेनापति अशोक सिग्देलले मंगलबार बिहान प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। यद्यपि, भेटका विषयमा औपचारिक विवरण सार्वजनिक गरिएको छैन।