काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनले एक निष्ठावान र निर्भीक नेता गुमाएको बताएका छन्।
राष्ट्रपति पौडेल शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन्। उनले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे।
राष्ट्रपतिले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे। राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा र सार्वजनिक जीवनमा पुर्याएको योगदान सधैं स्मरणीय रहने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनले एक निष्ठावान, निर्भीक र सत्यको पक्षमा उभिने लोकतन्त्रवादी नेता गुमाएको महसुस भएको समेत बताएका छन्।