गोपालमान श्रेष्ठको पार्थिव शरीर बुधबार सानेपामा श्रद्धाञ्जलीका लागि राखिने

28 July, 2026 71 Views
गोपालमान श्रेष्ठको पार्थिव शरीर बुधबार सानेपामा श्रद्धाञ्जलीका लागि राखिने
71

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने अवसर मिल्ने गरी पार्थिव शरीर सानेपामा राखिने जानकारी दिएका छन्। त्यसपछि अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम तय गरिएको छ।

श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै सभापति थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण तथा लोकतन्त्रको रक्षामा उनले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताएका छन्।

उनले स्याङ्जाबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्राले नेपाली कांग्रेसको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र मुलुकलाई महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्।

सभापति थापाले गोपालमान श्रेष्ठको निधनलाई नेपाली कांग्रेस र समग्र देशकै लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनको निष्ठा, समर्पण र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताले आगामी पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

 
 
 

Related Post