काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले साउन १३ देखि १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकले साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। साथै, स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखी नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै, श्रेष्ठको १३औँ दिन गृह जिल्ला स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। पार्टीले श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलन र कांग्रेसको संगठन निर्माणमा पुर्याएको योगदानको सम्मानस्वरूप विभिन्न शोक कार्यक्रम आयोजना गर्ने जनाएको छ।