काठमाडौं । हत्या भएको चार दिनपछि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको तीन वर्षीया गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।
गरिमाको हत्याविरुद्ध बुधबारदेखि जारी सडक आन्दोलन शनिबार मध्यरातमा सरकार र पीडित परिवारबीच सहमति भएपछि टुंगिएको थियो। सहमतिपछि परिवारले आइतबार अस्पतालबाट शव बुझेर अन्तिम संस्कार गरेको हो।
कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा गरिमाको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उनका बुबा मनोज चौधरीले दागबत्ती दिएका थिए।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं पुगेका मनोज चौधरी र उनकी पत्नी मानमती चौधरी आइतबार मध्यान्ह कलैया फर्किएका थिए। उनीहरू फर्किएपछि प्रहरीले परिवारलाई कलैया प्रादेशिक अस्पताल पुर्याएर शव बुझ्ने प्रक्रिया अघि बढाएको थियो।
गरिमाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति थियो।