माघ, काठमाण्डौ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन २०८२ लाई दृष्टिगत गर्दै गैरसरकारी संस्था महासङ्घको संयोजनमा आयोजित कार्यक्रममा नागरिक समाजले राजनीतिक दलहरूलाई स्पष्ट, प्रतिबद्धतामूलक र कार्यान्वयन योग्य घोषणापत्र तयार गर्न हार्दिक अपिल गरेको छ।
कार्यक्रममा सहभागी विभिन्न नागरिक संगठन र सामाजिक सरोकारवालाले संविधान संशोधन, लोकतन्त्र, निर्वाचन पारदर्शिता, सुशासन, मानव अधिकार, सामाजिक तथा आर्थिक विकासलगायत विषयमा राजनीतिक दलहरूलाई ध्यान दिनुपर्ने विषयहरू उठाएका छन्।
नागरिक समाजले आफ्नो अपिलमा संविधान संशोधनलाई स्थिर, दिगो र नागरिकमैत्री बनाउने, लोकतन्त्रको गुणस्तर सुधार गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन प्राथमिकता दिन आग्रह गरेको छ।
कार्यक्रममा निर्वाचन पारदर्शिता सुनिश्चित गर्न उम्मेदवारका सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्ने र छुट्टै बैंक खातामार्फत मात्र निर्वाचन खर्च सञ्चालन गर्ने व्यवस्था लागू गर्न सुझाइएको छ। साथै, महिला, दलित, आदिवासी, मधेसी, अपाङ्गता भएका व्यक्ति, युवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यकको समान सहभागिता सुनिश्चित गर्ने स्पष्ट कार्यनीति समावेश गर्न पनि जोड दिइएको छ।
सिभिक स्पेससम्बन्धी अपिलमा स्वतन्त्र संगठन, शान्तिपूर्ण प्रदर्शन, डिजिटल अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।
कार्यक्रमका सहभागीहरूले सुशासन, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणका लागि निजामती सेवा सुधार, बजेट पारदर्शिता, भ्रष्टाचार उजागर गर्ने नागरिकको सुरक्षा र संघीय संरचनाको कार्यान्वयनमा स्पष्ट नीति लागू गर्न आवश्यक रहेको बताए।
त्यसैगरी, मानव अधिकार र सामाजिक विकासका क्षेत्रमा बालबालिका, महिला, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र पिछडिएका वर्गका अधिकार सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने नीति घोषणापत्रमा समावेश गर्न अपिल गरिएको छ।
कार्यक्रमको समापनमा नागरिक समाजले राजनीतिक दलहरूलाई स्थानीय आर्थिक विकास, कृषि, उद्योग, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै जनमुखी, समावेशी र दिगो आर्थिक विकासको स्पष्ट प्रतिबद्धता घोषणापत्रमा समेट्न आग्रह गरेको छ।
नागरिक समाजको तर्फबाट जारी गरिएको यो अपिलपत्र आगामी निर्वाचनमा नागरिकको जीवन र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू समावेश गर्न राजनीतिक दलहरूलाई प्रेरित गर्ने लक्ष्य राखेको छ।