ग्यास अभाव चर्किएपछि विक्रेता महासंघको माग– डिलरमार्फत मात्रै बिक्री गर

16 August, 2026 48 Views
ग्यास अभाव चर्किएपछि विक्रेता महासंघको माग– डिलरमार्फत मात्रै बिक्री गर
48

३१ साउन, काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किँदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले स्थापित वितरण प्रणालीअन्तर्गतका विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र अन्य केन्द्रबाट ग्यास बिक्री गर्दा बजार व्यवस्थापन थप अस्तव्यस्त बनेको बताएका छन्। उनका अनुसार यसले उपभोक्तालाई लामो समय लाइनमा बस्नुपर्ने र ग्यासका लागि अनावश्यक सास्ती खेप्नुपर्ने अवस्था सिर्जना गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा सरकारले एकातर्फ नियमित विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतालाई दुःख दिने गरेको आरोप लगाइएको छ। यस्तो सरकारी कार्यशैलीले ग्यास वितरण प्रणाली थप अव्यवस्थित बनेको महासंघको निष्कर्ष छ।

महासंघले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री रोक्दै डिलरमार्फत मात्रै ग्यास वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरिए उपभोक्ताले भोग्दै आएको समस्या कम हुने महासंघको दाबी छ।

महासंघका अनुसार पछिल्लो चार महिनामा नेपालमा करिब ६० हजार टन एलपी ग्यास कम आयात भएको छ। यससँगै बजारको आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख नयाँ सिलिन्डर थपिनु पनि अहिलेको अभावको एउटा कारण रहेको महासंघले जनाएको छ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले यसलाई तत्काल नियन्त्रण गर्न माग गरेको छ। नयाँ सिलिन्डर थपिँदै जाने तर ग्यासको आपूर्ति सोही अनुपातमा नबढ्ने हो भने आगामी वर्षहरूमा अभावको समस्या अझ गम्भीर बन्न सक्ने उसको चेतावनी छ।

महासंघले वास्तविक समस्या समाधान गर्नुपर्ने नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारमाथि बजार व्यवस्थापनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोपसमेत लगाएको छ। उसले आपूर्ति, आयात र वितरण प्रणालीको वास्तविक समस्या पहिचान गरी तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

Related Post