घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

16 July, 2026 67 Views
घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
67

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै पौडेललाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको हो। साथै, सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय पनि सुनाइएको छ।

यसै मुद्दाका सहप्रतिवादी दीपक आनन्दलाई पनि अदालतले ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।अदालतका अनुसार प्रतिवादीद्वयले तत्कालीन विनिमय दरअनुसार करिब ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन–दिन सहमति गरेको मिसिलमा रहेका संवाद तथा अन्य प्रमाणबाट पुष्टि भएको छ।यद्यपि, उक्त घुस रकम बरामद नभएको, रकम कहाँ राखिएको वा कुन बैंकमा जम्मा गरिएको भन्ने तथ्य वस्तुनिष्ठ रूपमा पुष्टि हुन नसकेको अदालतले उल्लेख गरेको छ।

यससँगै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ। विशेष अदालतले हाल संक्षिप्त फैसला सार्वजनिक गरेको जनाउँदै पूर्णपाठ भने पछि सार्वजनिक गरिने जनाएको छ।

Related Post