हुलिया फेरेर भाग्दै थिए, ठमेल ‘ब्याड टच’ प्रकरणका आरोपी पक्राउ

हुलिया फेरेर भाग्दै थिए, ठमेल ‘ब्याड टच’ प्रकरणका आरोपी पक्राउ
93

कपाल र दाह्री काटेर हुलिया नै परिवर्तन गरी भाग्न खोजेका ठमेल ‘ब्याड टच’ प्रकरणका आरोपी अन्ततः प्रहरीको फन्दामा परेका छन्।

ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो भाइरल भएपछि फरार रहेका शालीन साहलाई प्रहरीले शनिवार कलंकीबाट पक्राउ गरेको हो।

भदौ १८ गते ठमेलमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि साह फरार भएका थिए। भिडियोमा देखिएको लामो कपाल र दाह्री-जुँगा काटेर हुलिया परिवर्तन गरेका उनी कलंकीको तासिनडोलबाट पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका साह ३० वर्षीय तराईमूलका युवक हुन्।

अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले साहलाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ।

घटना ठमेलमा भएकाले थप अनुसन्धान प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) बाट अघि बढाइने प्रहरीले जनाएको छ।

Related Post