काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई–मधेशबाट चुनाव जितेर प्रधानमन्त्री बनेको आफू नै एक्लो नेता भएको दाबी गरेका छन्। आज सिरहा पुगेका प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रबाट आफू निर्वाचित भएको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन्।
प्रचण्डले तराई–मधेश, काठमाडौं, चितवन र गोरखाबाट निर्वाचन जितेको बताए। अहिले आफू हिमाली क्षेत्रमा रहेको उल्लेख गर्दै उनले आफूलाई हिमाल, पहाड र तराईका जनताले माया गरेको बताए।
उनले देशको स्वाधीनता, सामाजिक न्याय, समृद्धि र विकासप्रति आफूले ठूलो जिम्मेवारी महसुस गरेको बताए।
प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा हिमालको सुरक्षाको विषय उठाउँदै आएको र हिमपहिरो तथा हिउँ पग्लिने जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएको पनि बताए।
उनले आगामी दिनमा शान्ति, सुव्यवस्था, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।