हुण्डी कारोबारमा सीआईबीको कारबाही, धादिङका राजेन्द्र रिजाल पक्राउ

29 July, 2026 53 Views
हुण्डी कारोबारमा सीआईबीको कारबाही, धादिङका राजेन्द्र रिजाल पक्राउ
53

काठमाडौं । प्रहरीले १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमाथि व्यक्तिगत बैंक खाता प्रयोग गरी अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो रकम हुण्डीमार्फत कारोबार गरेको आरोप लागेको छ।

पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्। उनलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको बनस्थली क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार केही व्यक्तिहरूले अवैध रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त कारोबार बैंकिङ प्रणालीको दुरुपयोग गर्दै गरिएको आशंकामा प्रहरीले आवश्यक प्रमाण संकलन गरेको जनाएको छ। त्यसपछि काठमाडौं जिल्ला अदालतबाट हुण्डीसम्बन्धी कसुरमा पक्राउ अनुमति लिएर रिजाललाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ। साथै, हुण्डी कारोबारमा संलग्न हुन सक्ने थप व्यक्तिहरूको पहिचान तथा कारोबारको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ।

Related Post