हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्री बालेन मुस्ताङ किन गए, सदनमा जवाफ दिनुपर्छ

24 August, 2026 67 Views
हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्री बालेन मुस्ताङ किन गए, सदनमा जवाफ दिनुपर्छ
67

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणमाथि प्रश्न उठाउँदै मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई प्रधानमन्त्री कहाँ र किन गएको भन्ने विषय सदनमा स्पष्ट पार्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री पदमा पुगेपछि निजी जीवन भनेर छुट्टै व्यवहार गर्न नमिल्ने भन्दै भ्रमणको उद्देश्यबारे संसद्लाई जवाफ दिनुपर्ने बताएका हुन्।

साम्पाङले प्रधानमन्त्रीले मुस्ताङ जानुअघि मन्त्रिपरिषद् वा संसद्लाई जानकारी गराएका थिए कि थिएनन् भन्ने प्रश्नसमेत उठाए।

उनले व्यंग्यात्मक शैलीमा भने, ‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले।’

प्रधानमन्त्री मुस्ताङ जानुको वास्तविक उद्देश्य के थियो भन्ने स्पष्ट पार्नुपर्ने भन्दै उनले थपे, ‘के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ।’

साम्पाङको यो भनाइ प्रधानमन्त्री शाहको हालैको मुस्ताङ भ्रमणलाई लिएर आएको हो। यसअघि पनि उनले प्रधानमन्त्रीको संसद्मा उपस्थिति र पदीय जिम्मेवारीका विषयमा प्रश्न उठाउँदै आएका छन्।

Related Post