हर्कको बालेनलाई सुझाव– ‘मेरो सल्लाह मान’

हर्कको बालेनलाई सुझाव– ‘मेरो सल्लाह मान’
95

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना सल्लाहकारको सुझावभन्दा आफ्नो फेसबुक स्टाटस पढेर अघि बढ्न सुझाव दिएका छन्। साम्पाङले बालेनलाई सफल बनाउन आफूले दिएको सुझाव मान्नैपर्ने दाबीसमेत गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत बालेन्द्र शाहसँगको पुरानो मित्रता स्मरण गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले बालेनलाई आफूले विगतदेखि नै आलोचनामार्फत सही बाटो देखाउन खोजेको दाबी गरेका छन्।

उनका अनुसार, बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापनमा समस्या देखिएपछि आफूले सार्वजनिक रूपमा कटाक्ष गरेका थिए। त्यसपछि बालेन फोहोर व्यवस्थापनतर्फ गम्भीर भएर लागेको साम्पाङको दाबी छ।

साम्पाङले अहिले पनि बालेनलाई असफल बनाउन उनका वरिपरिका सल्लाहकारहरू नै जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले आफूले गरेको आलोचनाभित्रको सुझाव बुझ्न बालेनलाई आग्रह गरेका छन्।

साम्पाङले भनेका छन्, ‘तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिँड्नै पर्छ।’ उनले आफू मुखले माया गर्छु नभन्ने तर व्यवहारबाट सहयोग गर्न चाहेको दाबी गरेका छन्।

उनले बालेनलाई आफ्नो आलोचनालाई व्यक्तिगत रूपमा नलिई त्यसपछाडिको सुझाव बुझ्न आग्रह गर्दै ‘मनको आँखाले हेर्न’ समेत सुझाएका छन्।

साम्पाङको पछिल्लो अभिव्यक्ति प्रधानमन्त्री बालेन्द्र शाहप्रतिको उनको सार्वजनिक आलोचना र राजनीतिक सुझावको निरन्तरताका रूपमा आएको हो।

Related Post