हर्मुज विवादमा इरान अडिग, ओमानको प्रस्ताव अस्वीकार

29 July, 2026 62 Views
हर्मुज विवादमा इरान अडिग, ओमानको प्रस्ताव अस्वीकार
62

काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजको क्षेत्रीय रूपमा संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्ताव अस्वीकार गरेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने यस रणनीतिक जलमार्गमा आफ्नो नियन्त्रण कमजोर हुने भन्दै तेहरानले उक्त प्रस्ताव अस्वीकार गरेको हो।

समाचार संस्था रोयटर्सका अनुसार, एक वरिष्ठ इरानी अधिकारीले ओमानको प्रस्ताव सफल हुने सम्भावना नरहेको बताएका छन्। उनका अनुसार अमेरिका र साउदी अरेबियाले रणनीतिक जलमार्गसम्बन्धी आफ्ना योजना अघि बढाउन ओमानमाथि दबाब दिइरहेका छन्।

इरानले हर्मुज जलमार्गमा प्रवेश गर्ने सम्पूर्ण मार्ग र बाहिरिने केही भाग आफ्नो नियन्त्रणमै रहनुपर्ने अडान दोहोर्याएको छ। तेहरानले ओमानलाई महत्वपूर्ण छिमेकीका रूपमा सम्मान गरे पनि जलमार्गमा ५०–५० प्रतिशत संयुक्त नियन्त्रणको व्यवस्था इरानको हितमा नरहेको जनाएको छ।

यसअघि अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्र (एमओयू) भए पनि हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर विवाद कायम छ। इरानले आफ्नो पूर्ण नियन्त्रणको दाबी गर्दै ओमान नजिकबाट गुड्ने जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले केही साताअघि इरानमाथि हवाई आक्रमण सुरु गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १३ रातसम्मको हवाई अभियान स्थगित गरेको घोषणा गरे पनि दुवै पक्षबीच तनाव पूर्ण रूपमा साम्य भएको छैन। पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच फेरि आक्रमण र प्रतिआक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 
 
 

Related Post