असार २० — हस्पिटालिटी व्यवसायमा लामो अनुभव हासिल गरेका व्यवसायी तथा समाजसेवी रोटेरियन विष्णुबहादुर कार्कीले रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गरेका छन्।
रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटेरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटरियन तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
पदभार ग्रहणपछि सम्बोधन गर्दै गभर्नर कार्कीले रोटरीको मूल मन्त्र **‘सेवा नै धर्म’**लाई व्यवहारमा उतार्दै क्लबहरूलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र सेवामूलक परियोजनालाई प्रभावकारी तथा दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषगरी युवालाई रोटरीमार्फत सशक्त बनाउने र रोटरी फाउन्डेसनको माध्यमबाट समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउने लक्ष्य रहेको बताए।
उनले क्लब अध्यक्षहरूलाई रोटरीको मेरुदण्डको संज्ञा दिँदै उनीहरूको नेतृत्वमा सेवा अभियानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि बासुदेव गोल्यानले नवनियुक्त गभर्नर कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै सम्पूर्ण रोटेरियनलाई नयाँ ऊर्जा र साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे।
को हुन् विष्णुबहादुर कार्की?
इन्जिनियरिङ पृष्ठभूमि र मार्केटिङमा स्नातकोत्तर गरेका कार्की नेपालीसँगै अंग्रेजी, हिन्दी, फ्रेन्च र रसियन भाषामा दख्खल राख्छन्। उनी २५ वर्षभन्दा बढी समयदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्।
हाल उनी बेइजिङ गार्डेन चाइनिज रेस्टुरेन्ट र अर्को शपका अध्यक्ष तथा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका प्रवर्द्धक हुन्। यसअघि दक्षिण एसियाकै ठूलो तयारी पोसाक उद्योगमा करिब ३ हजार कर्मचारीको नेतृत्व गर्दै जनरल म्यानेजरका रूपमा काम गरेका उनी ट्राभल तथा पर्यटन क्षेत्रमा समेत लामो अनुभव बोकेका व्यवसायी हुन्।
कार्कीको परिवार पनि उद्यमशीलता र रोटरी अभियानमा सक्रिय छ। उनकी पत्नी नीरु केसी कार्की सफल उद्यमी तथा रोटेरियन हुन् भने छोरी विपासना अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को जेनेभा मुख्यालयमा कार्यरत छिन्। छोरा निर्वाण पारिवारिक व्यवसायसँगै प्रोजेक्ट म्यानेजमेन्टमा एमबीए अध्ययनरत छन्।
खेलकुददेखि समाजसेवासम्म सक्रिय
चार दशकदेखि करातेमा आबद्ध कार्की ब्ल्याक बेल्ट हुन्। उनले नेपाल सोटोकान कराते संघको अध्यक्ष, नेपाल कराते महासंघको सल्लाहकार लगायत विभिन्न खेलकुद संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी नेपाल आइस स्केटिङ तथा स्की संघका अध्यक्ष छन्।
सरकारी निकायमा समेत उनले नेपाल पर्यटन परिषद्, राष्ट्रिय खेलकुद परिषद्, अर्थ मन्त्रालयको गैर–कर राजस्व कार्यदल तथा ऊर्जा तथा उद्योग मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
दुई दशकदेखि रोटरी अभियानमा
दुई दशकभन्दा लामो समयदेखि रोटरीमा सक्रिय कार्की रोटरी क्लब अफ नागार्जुनका संस्थापक सदस्य तथा रोटरी क्लब अफ बानेश्वरका संस्थापक अध्यक्ष हुन्। उनी रोटरीका मेजर डोनर समेत हुन्।
उनले विभिन्न अन्तर्राष्ट्रिय रोटरी सम्मेलनमा सहभागिता जनाउनुका साथै ग्लोबल ग्रान्टअन्तर्गत भूकम्पपछि सोलुखुम्बुमा विद्यालय निर्माण, कोभिड–१९ का बेला ६० शय्याको आइसोलेसन सेन्टर सञ्चालन, ‘नो–हर्न’ अभियान र ‘वाकाथन’ जस्ता सामाजिक अभियानको नेतृत्व गरेका छन्।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को नेतृत्व सम्हालेसँगै कार्कीको अनुभव, व्यवसायिक दक्षता र सामाजिक सक्रियताले नेपाल–भुटानमा रोटरी अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।