काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आगामी पुस २८ गते हुने २० औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान महासचिव दीपकराज भुसालले उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय भुसाल करिब छ वर्षदेखि इक्यानको महासचिवको जिम्मेवारीमा रहँदै आएका छन्। उनी पहिलो कार्यकाल सर्वसम्मत चयनबाट र दोस्रो कार्यकाल निर्वाचनमार्फत महासचिव निर्वाचित भएका थिए।
बागबजारस्थित एनलाइटन इन्टरनेशनल एजुकेसन प्रा. लि. सञ्चालन गर्दै आएका भुसाल व्यवहारिक परामर्श कक्षबाट संघीय नेतृत्वसम्म पुगेका अनुभवी व्यवसायी हुन्। विद्यार्थी, अभिभावक र परामर्शदाताको दैनिक यथार्थसँग जोडिएको अनुभवका आधारमा संघका नीति तथा निर्णय व्यवहारमै लागू हुनुपर्नेमा उनी निरन्तर जोड दिँदै आएका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिनुका कारणबारे भुसालले शैक्षिक परामर्श क्षेत्रलाई आम्दानीको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्वसहितको पेशाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्। साथै संघलाई पारदर्शी, अनुशासित र सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इक्यानको आगामी निर्वाचनलाई संगठनको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस्तो अवस्थामा अनुभव, निरन्तरता र संस्थागत ज्ञान बोकेका भुसाल अध्यक्ष पदका बलिया दाबेदारका रूपमा अगाडि आएका छन्।