काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार चौधरीले २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको सेवाअवधिमा २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ वैधानिक आम्दानी गरेका थिए। तर सोही अवधिमा उनको खर्च तथा लगानी ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ पुगेको देखिएको छ।
कुल वैधानिक आयभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च तथा लगानीको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि उक्त रकम भ्रष्टाचारमार्फत आर्जन गरेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले अवैध रूपमा आर्जित रकमबाट पत्नी अर्पना कुमारीको नाममा घर-जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी गरिएको दाबी गर्दै सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएको छ।
चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद र जरिवानासहित वास्तविक सम्पत्ति लुकाएको तथा झूटो विवरण पेस गरेको अभियोगमा समेत थप सजायको माग गरिएको छ।