इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही गर्ने चेतावनी

10 October, 2026 133 Views
इन्टरनेटको शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही गर्ने चेतावनी
133

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि गर्न स्वीकृति नदिएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन र शुल्क बढाउन स्वीकृतिसमेत दिइएको छैन ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवाबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । प्रचलित व्यवस्थाअनुसार सेवा प्रदायकले शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने हुन्छ ।

त्यस्तै, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य नियमविपरीत हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रचलित नियमविपरीत काम गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

Related Post