इरान जाने जहाजलाई अमेरिकी सेनाले मिसाइल हानेपछि तनाव चर्कियो

12 August, 2026 7 Views
इरान जाने जहाजलाई अमेरिकी सेनाले मिसाइल हानेपछि तनाव चर्कियो
7

काठमाडौं । इरानतर्फ जान लागेको आरोपमा अमेरिकी सेनाले पानामाको झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जहाजलाई इरानतर्फ नजान पटक–पटक चेतावनी दिइएको थियो। तर चेतावनी नमानेर ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेपछि जहाजमाथि आक्रमण गरिएको हो।

मिसाइल प्रहारबाट जहाजको इन्जिन र स्टियरिङ प्रणालीमा क्षति पुगेको अमेरिकी सेनाले जनाएको छ। घटनामा चालक दलका सदस्य घाइते भए वा नभएकोबारे भने केही बताइएको छैन।

अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयास भइरहेका बेला यो घटना भएको हो। दुई देशबीच वार्ताको प्रयास जारी रहे पनि अहिलेसम्म ठोस सहमति हुन सकेको छैन।

यसैबीच, इरानले अमेरिकाले आफ्नो नीति परिवर्तन नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ। यो जलमार्ग विश्वको ठूलो हिस्सा समुद्री इन्धन ओसारपसारका लागि प्रयोग हुने महत्वपूर्ण मार्ग हो।

तनाव कम गर्न मध्यस्थता गर्ने प्रयासस्वरूप पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी मंगलबार इरानको राजधानी तेहरान पुगेका छन्।

Related Post