इटालीमा सुनमाया बुढाको ऐतिहासिक कीर्तिमान: १२० किलोमिटरको अल्ट्रा ट्रेल उपाधि जित्दै तोडिन् १३ वर्ष पुरानो रेकर्ड

29 June, 2026 54 Views
इटालीमा सुनमाया बुढाको ऐतिहासिक कीर्तिमान: १२० किलोमिटरको अल्ट्रा ट्रेल उपाधि जित्दै तोडिन् १३ वर्ष पुरानो रेकर्ड
54
काठमाडौँ । नेपाली साहसिक खेलकुदको क्षेत्रमा नयाँ इतिहास रच्दै प्रख्यात अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित 'ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल' को १२० किलोमिटर विधाको उपाधि जितेकी छन्।इटालीको कोर्टिना द आम्पेज्जोमा भएको उक्त कठिन दौड सुनमायाले १३ घण्टा ३३ मिनेट ०१ सेकेन्डमा पूरा गर्दै १३ वर्ष पुरानो कोर्स रेकर्ड समेत भङ्ग गरेकी हुन्।
 उनले सन् २०१३ मा फ्रान्सकी धाविका क्यारोलिन चावेरोटले कायम गरेको १३ घण्टा ४० मिनेट ३४ सेकेन्डको पुरानो रेकर्डलाई सात मिनेटभन्दा बढी समयले पछि पार्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। प्रतियोगिताको सुरुवाती चरणमा अस्ट्रेलियाकी लुसी बार्थोलोम्युसँगै दौडिएकी सुनमायाले निर्णायक उकालोहरूमा आफ्नो गति बढाउँदै प्रतिद्वन्द्वीहरूलाई निकै पछि छाडेकी थिइन्।
जुम्लाको पातारासी गाउँपालिका स्थायी घर भएकी सुनमायाको यस सानदार जितपछि प्रतियोगिताका आयोजकहरूले उनलाई सामाजिक सञ्जाल मार्फत लावारेडो अल्ट्रा ट्रेलकी 'नयाँ रानी' (न्यु क्वीन) घोषणा गर्दै उनको सन्तुलित र रणनीतिक दौडको उच्च प्रशंसा गरेका छन्।
अन्तर्राष्ट्रिय खेल मञ्चमा नेपालको नाम चम्काउने यो विजयलाई नेपाली अल्ट्रा रनिङ इतिहासकै आजसम्मको सबैभन्दा ठूलो र महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। कठिन हिमाली भूगोलमा हुर्किएकी सुनमायाको यो विश्वस्तरीय सफलताले विश्व खेलकुद जगत्मा नेपालको साहसिक पर्यटन र धावकहरूको उच्च क्षमतालाई पुनः प्रमाणित गरिदिएको छ।

Related Post