काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा पीडित बनेकाहरूले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नसकेको बताएका छन्। उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले ढिलो–चाँडो भदौ २३ र २४ गतेका घटनाको न्यायिक छानबिन हुने र त्यसपछि पीडितले न्यायको अनुभूति गर्न पाउने दाबी गरेका छन्।
पोखरेलले अहिले देशमा गैरजेनजीको प्रभाव र नियन्त्रण हाबी रहेको दाबीसमेत गरेका छन्। यस्तो अवस्थामा उनीहरूबाट सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ हुने उनको भनाइ छ।
उनले जेनजी आन्दोलनका क्रममा भएका घटनामा षड्यन्त्र हुनसक्ने विषय पनि उठाएका छन्। आन्दोलनका क्रममा वास्तवमा के भएको थियो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषय निष्पक्ष छानबिनबाट स्पष्ट हुनुपर्ने उनको धारणा छ।
घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन आवश्यक रहेको भन्दै पोखरेलले प्रमाणका आधारमा दोषी पहिचान गरी पीडितलाई न्याय दिलाउने वातावरण बनाउनुपर्ने बताएका छन्।