जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस

जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस
5

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद दिवस’ मनाइँदै छ।

दिवसका अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरकारका विभिन्न मन्त्री तथा सांसदहरूको समेत सहभागिता रहेको छ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषिमन्त्री गीता चौधरीलगायत सहभागी छन्।

सरकारले जेनजी आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसको विरोधमा भोलिपल्ट अर्थात् २४ भदौमा देशभर प्रदर्शन चर्किएको थियो।

दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोडसमेत भएको थियो।

Related Post