काठमाडौं । सातदोबाटोस्थित जेनजी शहीद पार्कको उद्घाटन शालिकको अनुहार नमिलेको भन्दै स्थगित भएपछि सामाजिक सञ्जालमा विभिन्न आलोचना र ट्रोल हुन थालेका छन् । शालिक निर्माणको जिम्मा नै नजान्नेलाई दिइएको भन्दै सरकारको कामप्रति समेत प्रश्न उठाइएको छ ।
तर, पार्क निर्माणमा राज्यकोषको लगानी नभएको निर्माण पक्षले जनाएको छ । रास्वपा सांसद बब्लु गुप्ता अन्तरिम सरकारका खेलकुद मन्त्री हुँदा पार्क निर्माणको योजना अघि बढाइएको थियो । सरकारी प्रक्रियाबाट बजेट व्यवस्थापन गर्न कठिन भएपछि ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट शालिक निर्माण गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
बब्लु गुप्ताका तत्कालीन अवैतनिक सल्लाहकार अर्जुन थापालाई निर्माण समन्वयको जिम्मेवारी दिइएको थियो । उनका अनुसार बैंकले ४८ लाख रुपैयाँ खर्च गर्ने गरी ४५ जना जेनजी शहीदका ढुंगाका शालिक निर्माण गरिरहेको छ ।
थापाका अनुसार मन्त्रालयबाट उपलब्ध गराइएका पुराना तस्बिरका आधारमा मूर्तिकारहरूले शालिक निर्माण थालेका थिए । तर, निर्माण पूरा नहुँदै उद्घाटनका लागि शालिक पार्कमा लगिएको उनको भनाइ छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन दिवसका अवसरमा पार्क उद्घाटन गर्ने तयारी गरिएपछि निर्माण पक्षलाई काम छिटो सक्न दबाब दिइएको थियो । मूर्तिकारले अझै करिब एक महिना समय लाग्ने बताए पनि उद्घाटनका लागि शालिक राखिएको थापाले बताए ।
उनले शालिकको फाइनल फिनिसिङ बाँकी रहेकै अवस्थामा उद्घाटनको तयारी गरिएकाले अनुहार नमिलेको देखिएको स्पष्ट पारे । अब केही शालिक फाइनल गरेर शहीद परिवारलाई देखाइने र परिवारको सुझावअनुसार काम अघि बढाइने उनको भनाइ छ ।
थापाका अनुसार ढुंगामा शालिक बनाउने काम निकै जटिल हुने भएकाले पूर्णरूपमा अनुहार मिलाउन चुनौती हुन्छ । ढुंगाको शालिकमा करिब ९० देखि ९५ प्रतिशतसम्म मात्र स्वरूप मिल्ने र कामका क्रममा ढुंगा फुट्ने जोखिमसमेत रहने उनले बताए ।
सामाजिक सञ्जालमा आलोचना भएपछि मूर्तिकारहरूले आफूहरूलाई आफ्नो पक्ष राख्ने अवसर नदिई गलत देखाइएको गुनासो गरेका छन् । निर्माण पक्षले भने अब करिब एकदेखि डेढ महिनाभित्र सबै शालिक पूर्णरूपमा तयार हुने जनाएको छ ।