जनकपुरमा हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता लखेटिए

21 July, 2026 167 Views
जनकपुरमा हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता लखेटिए
167

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन्।

मंगलबार जानकी मन्दिर दर्शनका लागि साम्पाङ जनकपुर आउने कार्यक्रम रहेकाले स्वागतका लागि पुगेका कार्यकर्तामाथि अवरोध गरिएको जनाइएको छ। हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईको मासु खाने सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो।

घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!’

यसअघि उनले अर्को स्टाटसमा जनकपुरमा तनाव उत्पन्न भएको उल्लेख गर्दै ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!’ लेखेका थिए। साथै पुराना विषय र धर्मलाई आधार बनाएर विवाद सिर्जना गरिएको दाबी गर्दै उनले आफ्ना पार्टीका कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।

श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको जनाएको छ। यता, घटनाबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक निगरानी र थप अनुसन्धान गरिरहेको छ।

Related Post