बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार दुर्घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको हो।
घटनामा रोल्पाका कृष्ण घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए।
चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला माथिबाट अचानक माटोको ढिस्को खसेको प्रहरीले जनाएको छ। ढिस्कोले काम गरिरहेका तीनै जना मजदुरलाई पुरेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।