कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी

10 August, 2026 14 Views
कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी
14

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई जना अनुपस्थित रहेका छन्। आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको हो।

बैठकमा कोशी प्रदेशका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन सहभागी भएका छन्। कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

आइतबारदेखि सुरु भएको बैठकमा सोमबारबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन्। बैठकमा छलफलका लागि आठ वटा एजेन्डा तय गरिएको छ।

मुख्य एजेन्डामा कांग्रेसको १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठन रहेका छन्।

यस्तै, प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन, कार्यसम्पादन समितिका निर्णय अनुमोदन, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन तथा जनसम्पर्क समिति र भ्रातृ संस्थाका विधानबारे पनि छलफल हुनेछ।

बैठकमा तराई–मधेशमा पछिल्लो समय भएका घटनाक्रम, सामाजिक सद्भाव कायम गर्ने विषय, सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

त्यस्तै, प्रदेश सरकारसँग सम्बन्धित पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषय पनि बैठकका एजेन्डामा रहेका छन्।

Related Post