काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रअघि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।
बन्दसत्रमा पेस हुने राजनीतिक, विधान संशोधन र आर्थिक प्रतिवेदनलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै बन्दसत्र सुरु हुनेछ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। त्यसपछि पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ।
बन्दसत्र सकिएपछि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिले आज साँझ महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
यस्तै, निर्वाचन कार्यतालिकाअनुसार मंगलबार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
उम्मेदवारी दर्तासँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप स्पष्ट हुने देखिएको छ।