काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।
कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्न लागेको हो। समूहले सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने दाबी गरेको छ।
देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ। उनका अनुसार सम्भव भएसम्म बुधबार नै रिट दायर हुन सक्छ, नभए एक–दुई दिनभित्र अदालत जाने तयारी छ।
यसअघि देउवा समूहको भेलाले गगन थापालाई सभापतिका रूपमा अस्वीकार गर्दै १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो।
त्यस्तै, कांग्रेस इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएका थिए।
यता, सभापति गगन थापाले भने निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने अडान दोहोर्याउँदै आएका छन्। असन्तुष्ट पक्षलाई समेट्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशनको कार्यतालिका केही पछाडि सारेका थिए।