काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दाङका सहोदर दाजुभाइ किरण किशोर घिमिरे र कमल किशोर घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। दाजु किरण खुला समूहबाट निर्वाचित हुँदा भाइ कमलले लुम्बिनी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा बाजी मारेका हुन्।
किरण गत प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। दाङबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका १६ जनामध्ये ६ जना मात्रै निर्वाचित भएका छन् भने १० जना पराजित भएका छन्।
यस महाधिवेशनबाट दाङले एक पदाधिकारीसहित पाँच जना केन्द्रीय सदस्य पाएको छ। दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने योगेन्द्र चौधरी थारू क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए।
चौधरी १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट पहिलोपटक केन्द्रीय सदस्य बनेका थिए। उनी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। उनका सहोदर दाजु सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद छन्।
लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी स्वर्गीय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन्। बुवाको निधनपछि राजनीतिमा सक्रिय भएका अनुराग १४औँ महाधिवेशनमा दाङ क्षेत्र नम्बर १ बाट सर्वाधिक लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि बनेका थिए।
२०७९ सालको निर्वाचनमा २८ वर्षको उमेरमै दाङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका अनुराग गत पुसमा सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका थिए। १५औँ महाधिवेशनमा पनि उनी सहजै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
त्यस्तै, दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने पूर्वराष्ट्रियसभा सदस्य अनिता देवकोटा महिला खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री प्रचण्डविक्रम न्यौपाने पनि भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी २०७९ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
दाङका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ बाट भने कांग्रेसको केन्द्रीय नेतृत्वमा कुनै पनि नेता निर्वाचित हुन सकेनन्। यस क्षेत्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका दीपक गिरी पराजित भए। कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय गिरी ३५ वर्षदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका नेता हुन्। उनी गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएका थिए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन्।
क्षेत्र नम्बर ३ कै लगातार तीन कार्यकाल क्षेत्रीय सभापति बनेका जगतबहादुर खड्का खसआर्य समूहबाट केन्द्रीय सदस्यमा पराजित भए। खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गोविन्दबहादुर शाह (शम्भू) पनि निर्वाचित हुन सकेनन्। त्यस्तै, विज्ञ समूहबाट डा. नहकुल केसी र मोहन लम्साल तथा दलित समूहबाट देविका नेपाली घिमिरे पराजित भए।
दाङ क्षेत्र नम्बर २ बाट दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा दलित समूहबाट पराजित भएका छन्। क्षेत्र नम्बर १ बाट भूगोलतर्फ उम्मेदवारी दिएका प्रदीपराज शर्मा पनि निर्वाचित हुन सकेनन्। उनी यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यसैगरी, महिला भूगोल समूहबाट गिरिजादेवी न्यौपाने र दलित महिला समूहबाट लीला नेपाली पराजित भएका छन्। यससँगै दाङबाट केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षा राखेका अधिकांश उम्मेदवार निराश बनेका छन्।