काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि पछाडि सरेको छ । मतदानका लागि आवश्यक तयारी पूरा हुन नसकेपछि दिउँसो १ बजेका लागि तोकिएको मतदान समय पुनः सारिएको हो । अब मतदान दिउँसो २ बजेबाट सुरु गर्ने सहमति भएको छ ।
महाधिवेशन सुरु भएको पाँचौँ दिनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । यसअघि बिहान १० बजेदेखि मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो ।
तर, आवश्यक तयारी पूरा नभएपछि पहिलोपटक मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो । १ बजे पनि मतदान सुरु हुन नसकेपछि पुनः समय परिवर्तन गरिएको हो ।
निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरी दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने सहमति गरेको समावेशी उपसभापतिका उम्मेदवार रञ्जित कर्णले जानकारी दिए ।
कांग्रेस महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूबीच प्रतिस्पर्धा छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।