काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले देशको परिस्थिति जुनसुकै बेला गम्भीर बन्न सक्ने भन्दै कांग्रेस विभाजित हुन नहुने धारणा राखे ।
उनले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ जस्तो अवस्थामा पुर्याउन सक्ने जोखिम रहेको उल्लेख गर्दै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने ।
आङदेम्बेले अहिले पार्टीभित्र नेतृत्वका लागि हुने प्रतिस्पर्धाभन्दा नेतृत्वप्रति विश्वास र भरोसा कायम गर्दै अघि बढ्नुपर्ने बताए । उनका अनुसार १८ वर्षका युवादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मले कांग्रेसको नेतृत्वप्रति अपेक्षा र भरोसा राखेका छन् ।
पार्टीका नेताहरूले व्यक्तिगत प्रतिस्पर्धाभन्दा सामूहिक रूपमा कांग्रेसलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नगरी पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता सञ्चालन गर्ने पार्टीका रूपमा बुझ्न नहुने धारणा राखे । कांग्रेसले आफ्नो विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन भविष्यका विषयमा गम्भीर बहस गर्नुपर्ने उनले बताए ।
‘कांग्रेस सरकार बनाउने पार्टी मात्र हो कि मुलुक बनाउने पार्टी हो भन्नेमा अब बहस हुनुपर्छ,’ उनले भने ।
सत्तामा पुग्नका लागि विभिन्न शक्ति र प्रवृत्तिसँग सम्झौता गर्दै जाँदा कांग्रेस आफ्नो मूल विचार र सिद्धान्तबाट विचलित भएको उनको विश्लेषण थियो । सत्ता प्राप्तिलाई मात्रै राजनीतिको केन्द्र बनाइए पार्टी पुनः पुरानै अवस्थामा पुग्न सक्ने उनले चेतावनी दिए ।
उनले कांग्रेसले नेतृत्व र अनुहार परिवर्तनमा मात्र ध्यान नदिई मुलुकलाई नयाँ राजनीतिक दिशा दिन सक्ने शक्ति बन्नुपर्ने बताए । उनका अनुसार बदलिँदो समय र पुस्ताको अपेक्षाअनुसार पार्टीले आफ्नो भूमिका पुनःपरिभाषित गर्न आवश्यक छ ।
‘हामीले अनुहार परिवर्तन मात्र गर्ने होइन, युगलाई दिशानिर्देश गर्नुपर्छ,’ आङदेम्बेले भने ।
राष्ट्रियता, राष्ट्रिय स्वार्थ र मुलुकका विद्यमान समस्यालाई कांग्रेसको राजनीतिक एजेन्डासँग जोडेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए । पार्टीले देशको समग्र अवस्था र जनताका समस्याप्रति थप गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
आङदेम्बेले कांग्रेसको नेतृत्वले पार्टीभित्रका सबै पक्ष र विचारलाई समेटेर अघि बढ्नुपर्ने बताए । आफू पनि सबैलाई समेटेर पार्टीलाई अघि बढाउने पक्षमा रहेको उनले स्पष्ट पारे ।
‘सबैलाई समेटेर जाने कुरामा भीष्म आङदेम्बे छ,’ उनले भने ।
महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जा, विचार र स्पष्ट राजनीतिक दिशासहित अघि बढ्नुपर्ने बताउँदै उनले जिल्लादेखि केन्द्रसम्मका नेता–कार्यकर्ताबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
पार्टीलाई केवल सत्ता प्राप्तिको माध्यम बनाउने प्रवृत्तिबाट मुक्त गर्दै विचार, सिद्धान्त र राष्ट्रिय मुद्दामा केन्द्रित बनाउन सके मात्र कांग्रेसले आफ्नो राजनीतिक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने आङदेम्बेको भनाइ थियो ।