काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय हित, सार्वभौमिक समानता, स्वतन्त्र निर्णय क्षमता र पारस्परिक सम्मानमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ ।
कांग्रेसको जारी महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छिमेकी तथा मित्रराष्ट्रसँग आपसी हित र आर्थिक सहकार्य विस्तार गर्दै नेपाललाई शान्त, स्वाभिमानी र जिम्मेवार राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्ने नीति अघि सारिएको छ ।
प्रस्तावमा थापाले पछिल्लो समय बढिरहेको भूराजनीतिक प्रतिस्पर्धाले नेपालको आर्थिक सम्बन्ध, नागरिकको सुरक्षा तथा स्वतन्त्र निर्णय गर्ने क्षमतामा चुनौती थपिरहेको उल्लेख गरेका छन् । यस्तो परिस्थितिलाई दीर्घकालीन रणनीतिमार्फत सम्बोधन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
विदेशमा रहेका नेपालीको सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्नुपर्ने विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ । विदेशमा रहेका नेपालीको ज्ञान, सीप, लगानी तथा आर्थिक सम्बन्धलाई नेपालको विकास र समृद्धिसँग जोड्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।
थापाले राष्ट्रिय स्वाधीनताको अर्थ केवल सीमा सुरक्षा र कूटनीतिक स्वतन्त्रतामा सीमित नरहेको बताएका छन् । ऊर्जा, वित्त, प्रविधि, आपूर्ति प्रणाली तथा कूटनीतिमा आफ्नै राष्ट्रिय हितअनुसार निर्णय लिन र कार्यान्वयन गर्न सक्ने क्षमता विकास गर्नु पनि स्वाधीनताको महत्वपूर्ण आधार भएको प्रस्तावमा उल्लेख छ ।
यस्तै, कूटनीतिक सेवामा योग्यता, दक्षता र इमानदारीलाई आधार बनाएर नियुक्ति तथा जिम्मेवारी दिनुपर्ने कांग्रेसको प्रस्ताव छ । प्रविधि, ज्ञान र वित्तीय सहकार्यका क्षेत्रमा नेपालको विकल्प र आत्मनिर्भर निर्णय क्षमतालाई थप बलियो बनाउने विषयलाई समेत परराष्ट्र नीतिको महत्वपूर्ण हिस्साका रूपमा अघि सारिएको छ ।