नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरिन्। प्रतिपक्षले प्रश्न उठाउनु सरकारलाई असहयोग गर्नु नभएको भन्दै उनले संसद्का प्रश्नलाई घेराबन्दीका रूपमा नलिन प्रधानमन्त्रीलाई सुझाव दिइन्।
प्रधानमन्त्रीले आफूलाई एक्लो महसुस गर्नुपर्ने अवस्था किन आयो भन्दै काउचाले प्रश्न गरिन्। उनले भनिन्, ‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन।’
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘कालो चस्मा खोल्नुहोस्, तपाईं एक्लो हुनुहुन्न।’ देश र जनताको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने उनको भनाइ थियो।
तर संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय प्रक्रिया र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने उनले स्पष्ट पारिन्।
सीमा विवादसँग सम्बन्धित विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीको छविमा असर पारिरहेको भन्दै काउचाले संसद्को रेकर्डमा रहेको उक्त अभिव्यक्ति सच्याउन किन ढिलाइ भइरहेको हो भन्दै प्रश्न गरिन्।
उनले थपिन्, गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो। प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ।’