काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । बाढी विपद् र पार्टीभित्र सहमति जुटाउन समय आवश्यक परेको भन्दै केन्द्रीय निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन असोज ७, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ ।
यसअघि वडा अधिवेशन भदौ २४ गते गर्ने कार्यतालिका थियो । नयाँ कार्यतालिकाअनुसार असोज ३ र ४ गते ६ हजार ७ सय ४३ वटै वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत र स्थानीय पार्टी संरचनासँगको समन्वयमा वडा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।
त्यसैगरी, गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ ।
कांग्रेसका अनुसार नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गरिनेछ । जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ ।
केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुने कार्यतालिका छ ।