195
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा चुनावी गतिविधि तीव्र बनेको छ ।
मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचन समितिले प्रारम्भिक मतदाता सूची सार्वजनिक गरेपछि बुधबार उम्मेदवार र उनीहरूका समर्थक प्रचारप्रसारमा केन्द्रित भएका छन् ।
महाधिवेशनस्थलमा उम्मेदवार तथा समर्थकहरूले मतदातालाई आफ्नो पक्षमा पार्न पर्चा वितरण, भेटघाट तथा विभिन्न प्रविधिमार्फत प्रचार अभियान सञ्चालन गरिरहेका छन् । उम्मेदवारका प्रचार सामग्री महाधिवेशनस्थलमा राख्ने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने क्रमसमेत बढेको छ ।
बिहीबार मतदान हुने कार्यतालिका रहेकाले निर्वाचनको समय नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता रिझाउन थप सक्रिय भएका हुन् । महाधिवेशनस्थलमा उम्मेदवारका समर्थकहरूले आफ्नो पक्षमा मत माग्दै प्रचारलाई तीव्र बनाएका छन् ।