काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या बढाएर १५ जना पुर्याउने भएको छ । पार्टीको विधान संशोधनमार्फत सहमहामन्त्रीको संख्या १५ पुर्याउने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार ९ जना सहमहामन्त्री समावेशी समूहबाट, २ जना खुलातर्फबाट र ४ जना सभापतिले मनोनीत गर्नेछन् ।
समावेशीतर्फ महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता भएका समुदायबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।
यसअघि कांग्रेसको विधानमा अल्पसंख्यक/अपाङ्गता भएका समुदायका लागि छुट्टै सहमहामन्त्री पदको व्यवस्था थिएन । यसपटक उक्त क्लस्टर थपिएको हो ।
त्यस्तै, सहमहामन्त्री पदमा खुलातर्फबाट पनि दुई जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यससँगै निर्वाचित सहमहामन्त्रीको संख्या ११ पुग्नेछ ।
बाँकी चार जना सहमहामन्त्री भने सभापतिले मनोनीत गर्नेछन् । नयाँ व्यवस्थाअनुसार सभापतिले कम्तीमा एक जना महिलासहित चार जना सहमहामन्त्री मनोनीत गर्न सक्नेछन् ।
यससँगै कांग्रेसमा सहमहामन्त्रीको कुल संख्या १५ पुग्ने भएको हो ।