केही पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी, ‘सुध्रिनुस्’

केही पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी, ‘सुध्रिनुस्’
65

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही पत्रकारलाई आफ्नो कार्यशैली सुधार्न चेतावनी दिएका छन्। नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन-जी सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन–चार जना पत्रकारलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।

आन्दोलनका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गर्ने तथा घाइते भएका पत्रकारप्रति सम्मान व्यक्त गर्दै गृहमन्त्री गुरुङले केही पत्रकारको गतिविधिप्रति भने असन्तुष्टि जनाए। यद्यपि, उनले ती पत्रकारको नाम सार्वजनिक गरेनन्।

सम्बोधनका क्रममा गुरुङले भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिद, घाइते तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाए। आफूले पाएको मन्त्री पदलाई सत्ता र शक्तिको घमण्ड नभई जनताले दिएको ठूलो जिम्मेवारीका रूपमा लिएको उनको भनाइ थियो।

पुराना राजनीतिक दलहरूलाई इतिहास परिवर्तन गर्ने प्रयास नगर्न चेतावनी दिँदै उनले आफूहरू सत्ताको लोभमा नभई सुशासन र परिवर्तनका लागि आन्दोलनमा उत्रिएको दाबी गरे।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता जनाउँदै उनले भ्रष्टाचार भएको जानकारी पाए जनताको तर्फबाट त्यसविरुद्ध लड्ने बताए।

नयाँ पुस्ताको सरकार परम्परागत राजनीतिक संस्कार परिवर्तन गर्दै जनताको सेवा गर्न आएको दाबी गर्दै गुरुङले परिवर्तनप्रतिको आशा कुनै पनि हालतमा मर्न नदिने बताए।

सुरक्षा निकायलाई राजनीतिक दबाबबिना निष्पक्ष रूपमा काम गर्ने वातावरण बनाइएको उल्लेख गर्दै उनले सुरक्षाकर्मीको मनोबल उच्च राख्दै देश निर्माणको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Related Post