काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दृष्टिकोण र नयाँ घोषणापत्रसहित पुनर्गठन गर्नुपर्ने बताएका छन्। उनले अहिलेको कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको उल्लेख गर्दै सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरेर नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले कुनै एक दल वा एक जना नेताले मात्र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नसक्ने बताए। कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सबै कम्युनिस्ट पार्टीबीच छलफल, सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ थियो।
उनले पछिल्ला दुई दशकमा कम्युनिस्ट पार्टी र त्यसका नेतृत्वबाट भएका कमजोरीका कारण कम्युनिस्ट शक्तिको जनसमर्थन घटेको दाबी गरे। उनका अनुसार, एक समय करिब ७० प्रतिशत रहेको जनसमर्थन अहिले २२ देखि २५ प्रतिशतमा झरेको छ। त्यसैले नयाँ विचार, नयाँ नीति र युवालाई आकर्षित गर्ने कार्यक्रमसहित कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
पत्रकार सम्मेलनमा विप्लवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबारे पनि टिप्पणी गरे। विभिन्न राजनीतिक, बौद्धिक र कूटनीतिक वृत्तमा सरकारको भविष्यबारे चर्चा भइरहेको उल्लेख गर्दै उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। साथै, सरकार कति समय टिक्छ भन्ने विषयमा भइरहेका चर्चाबारे समयले नै स्पष्ट पार्ने बताए।