51
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा कम्युनिष्ट आन्दोलनलाई सिध्याउने ठूलो षड्यन्त्र भइरहेकाले वामपन्थी शक्तिहरूबीच तत्कालै सहकार्य थाल्नुपर्नेमा जोड दिनुभएको छ। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सहकार्यमा जति ढिलाइ गर्यो, त्यति नै देशमा भयानक दुर्घटना हुने चेतावनी दिनुभएको हो।
उहाँले भारतमा जस्तै नेपालमा पनि कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न प्रतिक्रियावादी र वैदेशिक शक्तिहरू सक्रिय रहेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, निरङ्कुशता र फासिज्मका विरुद्ध सबै वामपन्थी तथा देशभक्त शक्तिहरू छिटोभन्दा छिटो एक ठाउँमा उभिनुपर्ने अपिल गर्नुभयो। उहाँले आफूले आजै वा भोलि नै पार्टी एकता गरिहालौँ भन्न नखोजेको तर संसद्, सडक र आगामी चुनावसम्मका लागि अहिल्यैदेखि सहकार्यको ढोका खोल्नुपर्ने स्पष्ट पार्नुभयो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सोही कार्यक्रममा नेकपाका सहसंयोजक झलनाथ खनालले पनि देशमा वैदेशिक शक्तिहरूको बबन्डर र थिचोमिचो बढ्दै गएकाले कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको भन्दै प्रचण्डको भनाइमा ऐक्यबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो, जसलाई पछिल्लो राजनीतिक समीकरणका दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।प्रचण्डले विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै मुलुकको हितका लागि सबै कम्युनिष्ट नेताहरू जिम्मेवार बनेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।