काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि बनेको कृत्रिम तालको करिब २० लाख घनमिटर पानी पूर्ण रूपमा बाहिरिएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले तालको पानी प्राकृतिक रूपमा बाहिरिएपछि क्षेत्र सामान्य अवस्थामा फर्किएको जनाएको छ।
नेपालतर्फको छोछेन खोला र चीनतर्फको पुरेपु साङ्पो नदीको संगम नजिकै हिमपहिरो र पहिरोका कारण नदी थुनिएपछि उक्त कृत्रिम ताल बनेको थियो। जलस्रोत मन्त्रालयको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीका अनुसार तालमा जम्मा भएको पानी अहिले पूर्ण रूपमा निकास भएको छ।
यता, तिब्बतको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार साँझसम्म केरुङ क्षेत्रमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेको जनाइएको छ। यसअघि चिनियाँ पक्षले केरुङ क्षेत्रमा बाढी र पहिरोपछि उद्धार तथा खोजी कार्य जारी राखेको जनाएको थियो।