93
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका जेनजी (Gen Z) अभियन्ताहरूमाथि भएको प्रहरी धरपकड, कुटपिट र गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै पक्राउ परेका सबै युवाहरूलाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेका छन्।
शनिबार कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी र डुबानका कारण प्रभावित सुकुम्बासी परिवारको नाजुक अवस्था नियाल्न र राज्यको उपस्थिति खोज्न पुगेका अधिवक्ता तथा अभियन्ता माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि प्रहरीले निर्ममतापूर्वक बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो।
सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै नेता थापाले विपद्को समयमा नागरिकको अवस्था बुझ्न गएका युवाहरूमाथि राज्यले देखाएको यो व्यवहारलाई 'अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय' भनी टिप्पणी गरेका छन्।
सभापति थापाले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको स्मरण गराउँदै जनताको आलोचना र फरक मतलाई दमन गरेर नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्।
उनले जनताको प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको चरम कायरता भएको दाबीसमेत गरे। कीर्तिपुर प्रहरी वृत्तका अनुसार उद्धार कार्यमा अवरोध पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको भनिए पनि, पक्राउ परेका माजिद अन्सारी घाइते भएको र उनको मुखबाट रगत बगिरहेको भिडियो सार्वजनिक भएपछि यो घटनाको देशव्यापी आलोचना भइरहेको छ।