करदाता प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ : अर्थमन्त्री वाग्ले

07 August, 2026 73 Views
करदाता प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ : अर्थमन्त्री वाग्ले
73

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले डिजिटल प्रणालीमार्फत कर प्रशासनलाई थप पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे।

शुक्रबार करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले डिजिटल माध्यमबाट कारोबार गर्ने र भ्याट बिल लिने–दिने बानीले कर प्रणालीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार यसले राजस्व चुहावट रोक्नुका साथै करको दायराबाहिर रहेका व्यवसाय र नागरिकलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गराउन सहयोग पुग्नेछ। प्रविधि र नीतिको प्रभावकारी संयोजनका कारण यस्तो कार्यक्रम कार्यान्वयन गर्न सम्भव भएको उनले बताए।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ मा एक हजार पाँच सय ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उक्त लक्ष्य पूरा गर्न करको दायरा विस्तार गर्नु अपरिहार्य रहेको बताए। उनले यस्ता कार्यक्रममार्फत बढीभन्दा बढी नागरिकलाई औपचारिक अर्थतन्त्रमा सहभागी गराउने उद्देश्य रहेको पनि बताए।

भ्याट बिलको दुरुपयोग र नक्कली कारोबारका अभ्यासलाई सरकारले निरुत्साहित गर्ने उनले स्पष्ट पारे। सुरुआती चरणमा दण्डात्मक कारबाहीभन्दा सचेतना र सुधारमा जोड दिइने तथा सम्बन्धित पक्षलाई सम्झाएर सही अभ्यासतर्फ उन्मुख गराइने उनले बताए।

अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा यसले अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरणीय अभ्यासका रूपमा पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे।

 
 
 

Related Post