काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार विजेताको घोषणा गरिएको हो।
विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ। ती उपभोक्ताले साउन ७ गते उक्त स्टोरबाट सामान खरिद गरेका थिए।
आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार उपहार रकममा लाग्ने कर कटाएर बाँकी रकम विजेतालाई प्रदान गरिनेछ।
यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले नगद उपहार जितेका छन्। उनीहरूको गोपनीयता कायम गर्न नाम सार्वजनिक नगरिएको विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यो उपहार योजना घोषणा गरेका थिए।
कार्यविधिअनुसार प्रत्येक महिनाको १६ गते (महिनाको १ देखि १५ गतेसम्मको खरिद) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाभरिको खरिद) गरी दुई चरणमा उपहार घोषणा गरिनेछ।
बैंक वा डिजिटल वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः योजनामा सहभागी हुनेछन्। तर, उपहार दाबी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेपछि मात्र योजनामा सहभागी हुने कुपन प्राप्त गर्ने व्यवस्था गरिएको छ।